Skip to main content

अस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

त्रिभुवन विश्वविद्यालय 
अन्तर्गत व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को खाली जग्गामा अवस्थित राष्ट्रिय आविष्कार केन्द्रले नेपाली परिवेशअनुसार विभिन्न उपकरणलाई परिष्कृत गर्दै निर्माण गर्छ । कहिले दाँत कोट्याउने सिन्का उत्पादनका लागि तम्तयार हुन्छ त कहिले बाँदर धपाउने उपकरण बनाउन, कोरोनाको महामारीमा केन्द्रले बनाएको पीपीई, स्वाब संकलन गर्ने बुथले पनि स्वास्थ्य संकटकालमा ठूलै भरथेग गरेको थियो।

राष्ट्रिय आविष्कार केन्द्रका नेतृत्वकर्ता तथा रोमन म्यागसेसे पुरस्कार विजेता महावीर पुनले महामारीकै समयमा विभिन्न अस्पतालमा बिग्रिएर थन्किएका दर्जनौं भेन्टिलेटर पनि मर्मत गरिदिएर स्वास्थ्य क्षेत्रलाई गुन लगाएका छन् । अवसरको खोजीमा बिदेसिन बाध्य युवालाई स्वदेशमै केही नयाँ काम गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ उनले आविष्कार केन्द्रको परिकल्पना गरेका थिए । उनले देखेको सपनालाई राज्यले भन्दा ‘पब्लिक फन्डिङ’ ले ठूलो भरथेग गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालमा बिग्रिएर थन्किएका उपकरण मर्मत गर्न दिनेगरी समझदारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय सरकारको मातहतमा रहेका १७ वटा अस्पतालमा बिग्रिएर थन्किएका विभिन्न उपकरणको मर्मत गर्ने जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेका छन् । यस निर्णयमा मन्त्री पौडेल जति उत्साहित छन् त्योभन्दा बढी हर्षित महावीर छन्, राज्यले अवसर दिएकोमा । मन्त्री पौडेलले अनावश्यक रूपमा महँगा उपकरण खरिद गर्ने परिपाटीलाई निरुत्साहित गर्न मर्मत गरेर चलाउन सम्भव भएका उपकरणको मर्मत गर्नका लागि पुन नेतृत्वको आविष्कार केन्द्रलाई गुहारेका हुन् ।

मन्त्रालयले पुनलाई बिग्रिएका स्वास्थ्य उपकरणलाई नयाँ जीवन दिनका लागि सम्झौता गर्न बोलाइरहँदा उनी भने हेटौंडामा आफ्नो आत्मकथाको किताब बिक्री गर्न तल्लीन थिए । किताब बिक्रीबाट उठेको रकम पनि उनले आविष्कार केन्द्रमै लगाउने बताएका छन् । उनको अठोट र भरोसालाई साथ दिँदै करिब सवा लाखभन्दा बढी किताब बिक्री भइसकेको छ ।


राष्ट्रिय आविष्कार केन्द्रले कोरोना महामारीको संकटमा धेरै सरकारी अस्पतालमा बिग्रिएर थन्किएका विभिन्न उपकरणका साथै भेन्टिलेटर पनि मर्मत गरेर सहयोग गरेका थिए । त्यससँगै उनको टोलीले कोरोना परीक्षणमा सहायता पुग्ने गरी विभिन्न उपकरणहरूको पनि निर्माण गरेको थियो । बुधबार स्वास्थ्य मन्त्रालयमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष पुनले मन्त्रीको उपस्थितिमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

डा. उपाध्यायका अनुसार पुन नेतृत्वको टोलीले सबैभन्दा पहिला विभिन्न संघीय अस्पतालमा बिग्रिएर थन्किएका उपकरणहरूको अभिलेखीकरण गर्नेछ । ‘पहिला उहाँहरूले अस्पतालमा बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेका उपकरणहरू के–के छन्, त्यसको विवरण संकलन गर्नु हुनेछ । त्यसपछि तीमध्ये मर्मत गरेर पुनः प्रयोग गर्न मिल्ने उपकरणहरूको मर्मत गर्न सुरु गर्नु हुनेछ,’ उनले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रले वारेन्टी–ग्यारेन्टी सकिएर, नियमित वार्षिक मर्मतभन्दा बाहिर रहेका उपकरणहरूलाई मर्मत गर्न सम्भव भए मर्मत गर्ने हो ।’

डा. उपाध्यायका अनुसार आविष्कार केन्द्रले संघीय अस्पतालसँग आफैं छलफल गरेर मर्मत गर्नुपर्ने उपकरणहरू र त्यसमा लाग्ने शुल्कका बारेमा सोधखोज गरेर अगाडि बढ्नेछ । ‘हामीले केन्द्रलाई उपकरण मर्मत गर्नका लागि सहज वातावरण निर्माण गर्न सम्झौता गरेका हौं,’ उनले भने, ‘कुन सामग्री मर्मत गर्न कति समय र शुल्क लाग्छ, त्यो केन्द्र र अस्पतालबीच छुट्टै छलफल हुन्छ । हामी समन्वय गरिदिन्छौं ।’

पुनका अनुसार आविष्कार केन्द्रसँग अस्पतालमा प्रयोग हुने जुनसुकै उपकरण पनि मर्मत गर्न सक्ने क्षमता छ । ‘यो त्यो भन्ने होइन, मर्मत गर्न मिल्ने सबै उपकरण हामी मर्मत गर्छौं,’ उनले भने, ‘अहिलेलाई वारेन्टीमा भएका उपकरणहरू हामी छुँदैनौं । पार्टपुर्जा पाउने जति सबै बनाइदिन्छौं । नेपालमा मर्मत हुन नसक्ने उपकरणलाई मर्मत गर्न विदेशमा लैजानुपर्ने भए त्यसको पनि सिफारिस गरिदिन्छौं । नभए कवाडीमा बेच पनि भनिदिन्छौं ।’

पुनका अनुसार पहिलो चरणमा आविष्कार केन्द्रको टोलीले हरेक संघीय अस्पतालमा गएर कुन उपकरण के अवस्थामा छ भनेर सूची बनाउनेछ । त्यसपछि मात्रै के कति मर्मत गर्न सकिन्छ भन्ने यकिन विवरण प्राप्त हुन सक्छ । ‘कहाँ कुन उपकरण कस्तो अवस्थामा छ भनेर पत्ता लगाउन नै लामो समय लाग्ने देखेको छु,’ पुनले भने, ‘केन्द्रका अस्पतालमा प्रयोग हुने उपकरण मर्मत गर्न सक्ने टोली छ । उनीहरूले हेर्छन् ।’

पुन आफैं पनि मन्त्रालयले उनलाई विश्वास गरेर काम गर्ने अवसर दिएकोमा निकै खुसी छन् । त्योभन्दा पनि केन्द्रको सहयोगमा राज्यको खेर गइरहेको सम्पत्तिलाई उपभोग गर्न योग्य बनाउने अवसर पाउनुमै उनले सन्तोष मानेका छन् । ‘बिग्रिएर खेर गइरहेको राज्यको सम्पत्तिलाई मर्मत गरेर उपयोग गर्न मिल्ने बनाउन पाए सबै बिरामीहरू यसबाट लाभान्वित हुन्छन्,’ उनले भने, ‘यसले महँगा उपकरण खरिदका लागि भइरहेको अनावश्यक खर्चलाई पनि जोगाउँछ ।’ पुनका अनुसार केन्द्रले सकेसम्म आफ्नै स्रोतसाधन तथा प्राविधिकको प्रयोग गरेर बिग्रिएका उपकरणहरू मर्मत गर्ने कोसिस गर्नेछ । ‘हामीले मर्मत नै गर्न नसक्ने भयो भने बाहिर रहेका प्राविधिकहरूसँग पनि सहकार्य गर्छौं । कुनै उपकरण मगाएर बनाउन मिल्ने भए बनाइदिन्छौं,’ उनले भने, ‘राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ, त्यो पूरा गर्छौं ।’

स्वास्थ्यमन्त्री पौडेलका अनुसार अहिले तत्काल नयाँ उपकरण खरिद गर्नेभन्दा पनि बिग्रिएर सञ्चालनमा नआएका उपकरणहरूको मर्मतलाई प्राथमिकता दिन राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरिएको हो । ‘हामीसँग भएका उपकरणलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ ? प्रयोग नभएकै कारण बिग्रिएका उपकरणलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकियो भने त्यसमा धेरै खर्च लाग्दैन । राज्यको सीमित खर्चभित्र उपकरणहरूलाई व्यवस्थापन गर्नका निम्ति हामीले यो काम सुरु गरेका हौं,’ मन्त्री पौडेलले भने, ‘मर्मत गरेर पनि प्रयोगमा आउन नसक्ने उपकरणहरू पनि अस्पताल परिसरमै थन्किएर बसेका छन् । तिनलाई पनि कवाडीका रूपमा व्यवस्थापन गरिनेछ ।’

आविष्कार केन्द्रले संघीय अस्पतालमा अलपत्र अवस्थामा रहेका उपकरणहरूलाई मर्मत हुने र नहुने भनेर छुट्याइदिँदा अस्पताल परिसर सफा हुनुका साथै कम खर्चमा उपकरण पनि प्राप्त हुने स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ । ‘आविष्कार केन्द्रलाई यो काम गर्न दिँदा स्वदेशमा रहेका वैज्ञानिक तथा प्राविधिकलाई पनि प्रोत्साहन मिल्छ,’ उनले भने, ‘यसका साथै राज्यले यही कामका लागि जति खर्च गर्नुपर्ने हो, त्यति नगरिकनै सामान्य खर्चमा प्रतिफल पनि हासिल गर्न सक्छ ।’

मन्त्री पौडेलका अनुसार केन्द्रले नेपालमा मर्मत गर्न सम्भव नभएका उपकरणहरूको मर्मतसमेत कहाँ कसरी गर्न सकिन्छ भनेर सुझाव दिनेछ । केन्द्रको सुझावअनुसार नै त्यस्ता उपकरणहरूको व्यवस्थापन गरिनेछ । उनको भनाइमा सबै संघीय अस्पतालहरूलाई आविष्कार केन्द्रसँग समन्वय गर्नका लागि मन्त्रालयले आवश्यक परिपत्र गर्नुका साथै त्यसको निरन्तर फलोअप पनि गरिनेछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार १७ वटा संघीय अस्पतालका गोदाममा के–कस्ता सामग्री के–कति कारणले थन्किएर बसेका छन् भन्ने यकिन तथ्यांक नै नभएको बेलामा आविष्कार केन्द्रले बिग्रिएका सामग्रीको अभिलेखीकरण पनि गर्ने हुँदा धेरै सहयोग हुनेछ । ‘स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले बिग्रिएका उपकरणहरूको अभिलेख त राखेको छ । तर त्यो पूर्ण रूपमा अद्यावधिक भइरहेको हुँदैन । यस्तोमा केन्द्रले विभागसँग रहेको विवरणलाई पनि लिएर अस्पतालमा गएर हेरेर आफ्नो अभिलेख बनाउँछ । त्यसले सहयोग हुन्छ,’ उनले भने, ‘त्यसका साथै सामान्य मर्मत गरेर उपयोग गर्न सकिने सामग्री पुनः प्रयोगमा ल्याउन सकिन्छ ।’

डा. बुढाथोकीका अनुसार हालसम्म अस्पतालमा थन्किएका सामग्रीलाई बिग्रिएको भनेर कसैले प्रमाणित नगरेका कारण त्यसले ठाउँ पनि ओगटेर बसेको अवस्था छ । ‘यस्तोमा केन्द्रले मर्मत हुन नसक्ने गरी बिग्रिएको हो भनेर प्रमाणित गरिदिए कवाडीका रूपमा त्यसलाई लिलाम पनि गर्न मिल्ने हुन्छ,’ उनले भने, ‘पुन आफैं पनि नेपालमा केही राम्रो गरौं भनेर लागि परेका व्यक्ति भएकाले उनको नेतृत्वको टोलीले गरेका मूल्यांकनमा विवाद आउने सम्भावना पनि कम रहेको छ ।’

के हो राष्ट्रिय आविष्कार केन्द्र ?

राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनको सपना हो । नयाँ वैज्ञानिकहरूलाई अवसरको ढोका खोल्ने उद्देश्यका साथ २०७६ कात्तिक १ मा त्रिविभित्र आविष्कार केन्द्रको स्थापना गरिएको हो । पुन केन्द्रलाई नयाँ वैज्ञानिक तथा उद्यमीहरू उत्पादन गर्ने थलो बनाउन चाहन्छन् । थोरै सरकारी सहयोग र धेरै पब्लिक फन्डिङमा अगाडि बढिरहेको आविष्कार केन्द्रमा दर्जनौं युवायुवतीले आफ्नो सोचलाई आकार दिएका छन् ।

आविष्कार केन्द्रले नवजात शिशुलाई न्यानो पार्ने यन्त्र, सेल बनाउने यन्त्र, फालिएका प्लास्टिकबाट विभिन्न प्रकारका कुर्ची तथा गमला बनाउने प्रविधि, सानो प्रकारको चिस्यान केन्द्र, विभिन्न प्रकारका कृषि औजार आदि बनाएको छ । तीमध्ये केहीको बजारीकरण पनि सम्भव छ भने केहीलाई थप परिष्कृत गर्नु आवश्यक देखिन्छ ।

सीमित स्रोतसाधनका साथ अगाडि बढिरहेको केन्द्रलाई सरकारले वीरगन्जको बन्द रहेको कृषि औजार कारखाना सञ्चालन गर्न पनि जिम्मा दिने निर्णय गरेको छ । सरकारले कारखाना नै चलाउन जिम्मा दिए पनि स्रोत नदिएको झोंकमा पुन आफ्नो आत्मकथा बेचेर आर्थिक स्रोत जुटाउनकै लागि देश दौडाहामा छन् । बुधबार स्वास्थ्य मन्त्रालयमा समझदारी पत्रमा हस्ताक्षर गर्न आइपुगेका उनी सोही दिन साँझ नै किताब बिक्री गर्न हेटौंडा पुगिसकेका छन् ।



Comments

Popular posts from this blog

मेयर कप हाप्किडोमा मालिका माविको दबदबा, ७ स्वर्णसहित प्रथम स्थान

 मेयर कप अन्तर्गत आयोजित चौथो राष्ट्रिय सहिद स्मृति हाप्किडो च्याम्पियनशिप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशका सातै प्रदेशबाट खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी बागमती प्रदेश अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नं. ५ र ६ का हाप्किडो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाएका छन्। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–६ स्थित मालिका माध्यमिक विद्यालय का खेलाडीहरूले विशेष सफलता हासिल गरेका छन्। उक्त विद्यालयका खेलाडीहरूले ७ वटा स्वर्ण, ६ वटा रजत तथा ४ वटा कास्य पदक जित्दै आफ्नो डोजाङलाई समग्रमा प्रथम स्थान दिलाउन सफल भएका छन्। खेलाडीहरूको कठोर मेहनत, अनुशासन र समर्पणका कारण उनीहरूले आफ्नो व्यक्तिगत पहिचान मात्र नभई प्रदेश, जिल्ला तथा विद्यालयको नाम समेत उच्च राख्न सफल भएको आयोजक तथा स्थानीयवासीले बताएका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र खेलप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्ता उपलब्धिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली...

निर्माणाधीन निङमा साङाग गुम्बा: दियाले सिक्रेपिपलमा धर्म, संस्कृति र आस्थाको केन्द्र बन्दै

दियाले||नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४, दियाले सिक्रेपिपलमा निर्माणाधीन निङमा साङाग गुम्बा स्थानीय बासिन्दा तथा बौद्ध धर्मावलम्बीहरूका लागि आस्था र आध्यात्मिकताको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ। शान्त वातावरणमा अवस्थित यस गुम्बा क्षेत्रले धार्मिक साधना, प्रार्थना तथा सामुदायिक एकताको प्रतीकका रूपमा पहिचान बनाइरहेको छ। निर्माण कार्य अन्तिम चरणतर्फ उन्मुख हुँदै जाँदा स्थानीयवासीहरूमा उत्साह बढेको छ भने गुम्बा सम्पन्न भएपछि धार्मिक पर्यटनको सम्भावना समेत बढ्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार गुम्बा निर्माणले यहाँको धार्मिक गतिविधि मात्र होइन, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा समेत ठूलो योगदान पुर्‍याउनेछ। बौद्ध धर्मको निङ्मापा परम्परा अनुसार स्थापना गरिएको यस गुम्बामा ध्यान, पूजापाठ, शिक्षा तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ। गुम्बा निर्माणमा स्थानीय समुदाय, दाताहरू तथा धर्मप्रेमी व्यक्तिहरूको सहयोग उल्लेखनीय रहेको निर्माण समितिले जनाएको छ। “यो गुम्बा हाम्रो आस्था मात्र होइन, भावी पुस्ताका लागि सांस्कृतिक धरोहर पनि हो,” एक ...

फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

  नुवाकोट — फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप भव्यताका साथ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन जगत बहादुर गुरुङ, मेयर – बेलकोटगढी नगरपालिका ले गर्नुभयो। नेपाने, बेलकोटगढी–४ मा आयोजित उद्घाटन समारोहमा दक्षिण एसियाली हाप्किडो महासंघ तथा नेपाल हाप्किडो संघ का अध्यक्ष काली बहादुर घर्ती र उपमेयर शिव प्रसाद दाहाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभयो। साथै वडा अध्यक्षहरू चन्द्र बहादुर लामा र कौशीला पुडासैनीको पनि उपस्थिति रहेको थियो। नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल हाप्किडो संघका उपमहासचिव मोहम्मद मोसिन हलवाई, केन्द्रीय सदस्यहरू मनोज गुरुङ, राजेन्द्र मडै तथा मुख्य प्रशिक्षक प्रवीण गुरुङलगायतको सहभागिता थियो। प्रतियोगितामा सातै प्रदेशका करिब ५०० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा सात वटै प्रदेशका झाँकी तथा आकर्षक हाप्किडो डेमो प्रस्तुत गरिएको थियो।