दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार छनोट प्रक्रियाप्रति दाङ निर्वाचन क्षेत्र नं. १ का आकांक्षी भोजराज थापाले आफ्ना धारणा सार्वजनिक गरेका छन्। लामो समयदेखि भुईमान्छेका आवाज र समस्यालाई सदनसम्म पुर्याउने उद्देश्यसहित राजनीतिमा होमिने निर्णय गरेका थापाले उम्मेदवार चयन प्रक्रियामा पारदर्शिताको अपेक्षा गरेका थिए।
थापाका अनुसार, सरकारले जनताको आवाज नसुनेको र समस्याहरू नदेखाएको अनुभूतिका कारण उनले राजनीति मार्फत हजारौँ जनताको सेवा गर्न सकिन्छ भन्ने विश्वाससहित चुनावमा सहभागिता जनाएका थिए। “एउटा व्यक्तिले धेरै समस्या समाधान गर्न सक्छ भने सरकारले चाहे के गर्न सक्दैन ?” भन्ने सोचका साथ उनले उम्मेदवारी आकांक्षा अघि सारेको बताएका छन्।
रास्वपामा उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचन हुने बुझाइका आधारमा आफूले आवेदन दिएको तर अन्ततः प्राइमरी नभई सिधै उम्मेदवार चयन गरिएकोप्रति उनले असन्तुष्टि जनाए पनि व्यक्तिगत रुपमा उम्मेदवार चयनप्रति चित्त दुखाइ नरहेको स्पष्ट पारेका छन्। सुरूमै प्रदेश सभापतिले टिकट पाउने प्रावधान स्पष्ट गरिएको भए आफू लगायत अन्य आकांक्षीहरूले आवेदन नदिने अवस्था हुने उनको भनाइ छ।
थापाले दाङ–१ का जनतामा आफूले ठूलो आशा जगाएको उल्लेख गर्दै सांसद नबने पनि जनतासँग हिजो, आज र भोलि पनि सँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन्। “रोगले होस् वा भोकले, पीडाले छटपटाइरहेका हरेक नागरिकको साहरा बन्नेछु,” उनले बताएका छन्।
उनले भुईमान्छे र आम जनताका लागि आवश्यक ठानेका नीतिहरूमा कृषि आधुनिकीकरण र किसान संरक्षण, गुणस्तरीय शिक्षा र स्वास्थ्य, रोजगारी सिर्जना, सुशासन र भ्रष्टाचार नियन्त्रण, पर्यटन विकास, दिगो पूर्वाधार, वातावरण संरक्षण तथा युवा, महिला र सीमान्तकृत समुदाय सशक्तिकरणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन्।
दाङ निर्वाचन क्षेत्र नं. १ को भौगोलिक, सांस्कृतिक र आर्थिक महत्व औँल्याउँदै थापाले देउखुरी उपत्यका, थारु समुदायको समृद्ध संस्कृति, कृषि र पर्यटनको सम्भावनालाई दिगो विकाससँग जोड्न सकिने बताए। प्रदेश राजधानी रहेको यस क्षेत्रलाई समृद्धिको केन्द्रका रूपमा विकास गर्न जनप्रतिनिधिहरूले विशेष ध्यान दिनुपर्ने उनको आग्रह छ।
अन्त्यमा उनले सांसद बन्नु मात्र ठूलो कुरा नभई जनताको वास्तविक आवाज बोल्ने व्यक्ति प्रतिनिधि बन्नु महत्वपूर्ण भएको धारणा राख्दै आफू समाजसेवामै केन्द्रित रहने स्पष्ट पारेका छन्।

Comments
Post a Comment