नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ९ सिउरेनीस्थित श्री उज्वलतारा आधारभूत विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा २ सम्मका करिब ३१ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।
नेपाली जनप्रगतिशील मञ्च, प्रबासी टिमको सहयोगमा सम्पन्न उक्त कार्यक्रम बेलकोटगढी नगरपालिका नगर प्रमुख श्री जगत बहादुर गुरुङको प्रमुख आतिथ्य तथा वडा नम्बर ९ का वडा अध्यक्ष श्री दुर्गा प्रसाद गजुरेलको विशेष आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा नगर प्रमुख गुरुङले विद्यालयमा आवश्यक पर्ने भवन निर्माणका लागि रु. १५ लाख बजेट विनियोजन गरी स्रोत सुनिश्चित गरिएको जानकारी दिनुभयो। साथै विद्यालयमा देखिएका अन्य आवश्यक समस्याहरू समाधान गर्न समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगर प्रमुख गुरुङले यसअघि पनि विद्यालय पुनः सञ्चालनका लागि रु. १ लाख बराबरको अक्षयकोष स्थापना गरी सहयोग पुर्याएको स्मरण गराउँदै विद्यालय परिवारले उहाँप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, बाघखोर प्रहरी पोस्टका इन्चार्ज, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विद्यालय परिवारले न्यानो कपडा वितरण सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस्ता मानवीय तथा सेवामूलक कार्य निरन्तर भइरहोस् भन्ने कामना व्यक्त गरेको छ।

Comments
Post a Comment