बेलकोटगढी-४|
वि.सं. २०३२ सालमा स्थापना भएको श्री पञ्चासे माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती (५० औँ वर्ष)फागुन २ र ३ गते भव्य रूपमा मनाउने तयारी सुरु गरेको छ। पाँच दशक लामो शैक्षिक यात्रामा विद्यालयले हजारौँ विद्यार्थीलाई शिक्षा, संस्कार र अनुशासन प्रदान गर्दै समाजमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायको सक्रिय सहभागितामा स्वर्ण जयन्ती समारोहलाई सफल, स्मरणीय र ऐतिहासिक बनाउने लक्ष्य लिइएको विद्यालयले जनाएको छ। स्वर्ण जयन्तीका अवसरमा विभिन्न शैक्षिक, सांस्कृतिक, खेलकुद तथा सम्मान कार्यक्रमहरू आयोजना गरिने तयारी भइरहेको छ।
विद्यालय प्रशासनका अनुसार स्वर्ण जयन्ती समारोहमार्फत विद्यालयको शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास तथा भावी योजनाहरूलाई समेत उजागर गरिनेछ। साथै, विद्यालयको समग्र उन्नतिका लागि आवश्यक सहयोग जुटाउने उद्देश्यले पूर्व विद्यार्थी, अभिभावक, शुभेच्छुक, समाजसेवी तथा सरोकारवालासँग आर्थिक, भौतिक र नैतिक सहयोगको अपिल गरिएको छ।
विद्यालय परिवारले “हाम्रो विद्यालय, हाम्रो गौरव” भन्ने मूल नारासहित स्वर्ण जयन्तीलाई शिक्षा र सामाजिक एकताको उत्सवका रूपमा मनाउने प्रतिबद्धता जनाएको छ। स्वर्ण जयन्ती समारोहमा सबैको साथ र सहयोगले विद्यालयको भविष्य अझ उज्ज्वल बन्ने विश्वास व्यक्त गरिएको छ।

Comments
Post a Comment