बेलकोटगढी ।बेलकोटगढी नगरपालिका अन्तर्गत नलगाउँ क्षेत्रमा उत्पादन भएको ठूलो परिमाणको आलु बिक्री हुन नसक्दा स्थानीय किसानहरू गम्भीर समस्यामा परेका छन्। करिब ६० किलोका दरले करिब १५ हजारभन्दा बढी बोरा आलु भण्डारणमै थन्किएको छ, जसका कारण किसानहरू आर्थिक रूपमा अत्यन्त प्रभावित भएका छन्। स्थानीय किसानहरूका अनुसार उत्पादन राम्रो भए पनि बजारको अभाव र उचित मूल्य नपाउँदा उनीहरू मारमा परेका हुन्। समयमै बिक्री हुन नसक्दा आलु बिग्रिने जोखिम समेत बढ्दै गएको उनीहरूको गुनासो छ। किसानहरूले सुपथ मूल्यमा खरिद गर्न इच्छुक व्यापारीहरूलाई सम्पर्क गर्न आह्वान गरेका छन्। साथै, कम्तिमा लागत मूल्य बराबरको समर्थन मूल्य निर्धारण गरी राज्यले आलु खरिद गर्ने व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्। यस समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय तह तथा सरोकारवाला निकायले आवश्यक पहल गर्नुपर्ने देखिएको छ।