नुवाकोट — ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिन्दुर जात्रा (देवी जात्रा) आज नुवाकोटमा विशेष उत्साहका साथ मनाइँदैछ। वर्षेनी मनाइने यस जात्राले स्थानीय क्षेत्रलाई उल्लासमय बनाएको छ भने श्रद्धालु तथा दर्शकहरूको उल्लेख्य सहभागिता देखिएको छ।
देवी जात्रा वा सिन्दुर जात्रा परम्पराअनुसार चैत शुक्ल अष्टमीदेखि सुरु भई वैशाख कृष्ण दशमीसम्म सञ्चालन हुन्छ। यस वर्ष भने जात्रा चैत १२ गतेदेखि सुरु भई चैत १९ गते देविघाट जात्रा तथा चैत २१ गते सिन्दुर जात्रा विशेष रूपमा मनाइने कार्यक्रम रहेको छ। समग्र जात्रा वैशाख कृष्ण दशमी (चैत २९) सम्म मनाइनेछ।
जात्राका क्रममा देवदेवीको पूजा, बाजागाजा, रथयात्रा तथा सिन्दुर खेल्ने परम्पराले वातावरण झन् रमाइलो र सांस्कृतिक बनाएको छ। विशेषगरी सिन्दुर जात्रामा सहभागीहरूले एकअर्कालाई सिन्दुर लगाउँदै खुशी साटासाट गर्ने परम्परा रहेको छ, जसले आपसी सद्भाव र एकताको सन्देश दिने विश्वास गरिन्छ।
स्थानीयवासीहरूका अनुसार, “यो जात्रा हाम्रो पहिचान र संस्कृतिको प्रतीक हो, हरेक वर्ष झन् भव्य हुँदै गइरहेको छ।”
यस जात्राले धार्मिक आस्था मात्र नभई पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

Comments
Post a Comment