Skip to main content

साहित्यसँगै पर्यटन प्रवर्द्धन : ‘आठौँ नुवाकोट साहित्य पदयात्रा–२०८३’ भव्य रूपमा सम्पन्न

नुवाकोट, बैशाख — नेपाली साहित्यको उत्थान, स्थानीय कला–संस्कृतिको संरक्षण तथा ओझेलमा परेका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित “आठौँ नुवाकोट साहित्य पदयात्रा–२०८३” शनिबार भव्य रूपमा सम्पन्न भएको छ। नुवाकोट साहित्य प्रतिष्ठान नेपाल को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले साहित्यलाई प्रकृति, भूगोल र स्थानीय पहिचानसँग जोड्ने महत्वपूर्ण प्रयास गरेको सहभागीहरूले बताएका छन्।पदयात्रा विदुर नगरपालिका को बट्टारबाट सुरु भएको थियो। 

विभिन्न साहित्यकार, कवि, लेखक तथा साहित्यप्रेमीहरू सहभागी रहेको टोली ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बेलकोटगढी नगरपालिका हुँदै धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिम्टेश्वर क्षेत्रमा पुगेर कार्यक्रम सम्पन्न गरिएको थियो।पदयात्राका क्रममा सहभागीहरूले नुवाकोटका ग्रामीण बस्ती, प्राकृतिक दृश्य, स्थानीय संस्कृति र धार्मिक सम्पदाको अवलोकन गरेका थिए। यात्राभर विभिन्न स्थानमा साहित्यिक छलफल, कविता वाचन तथा सिर्जनात्मक अन्तरक्रिया समेत गरिएको थियो। सहभागी स्रष्टाहरूले प्रकृतिको काखमा यात्रा गर्दै सिर्जनशील भावनालाई अझ नजिकबाट अनुभूति गर्न पाएको बताएका थिए।




संस्थाकी उपाध्यक्ष जानुका दाहाल ले साहित्य केवल पुस्तकभित्र सीमित विषय नभई समाज, भूगोल र जनजीवनसँग प्रत्यक्ष जोडिएको अभिव्यक्ति भएको बताइन्। उनले साहित्यिक पदयात्राले स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।त्यसैगरी संस्थाका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठ ले बेलकोटगढी र चिम्टेश्वर क्षेत्र ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण भए पनि अपेक्षाअनुसार प्रचारप्रसार हुन नसकेको बताए। यस्ता पदयात्राले ती क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

उनका अनुसार कार्यक्रममा आएका ख्यातिप्राप्त कवि, लेखक तथा स्थानीय स्रष्टाहरू गरी ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी साहित्यकारहरूले साहित्य र पर्यटनलाई एकसाथ अघि बढाउन यस्ता अभियान निरन्तर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका थिए।चिम्टेश्वर क्षेत्रको भ्रमण तथा अवलोकनपछि आयोजित औपचारिक साहित्यिक कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता, गीत तथा गजल प्रस्तुत गरेका थिए। कार्यक्रममा लोबहादुर पुडासैनी, भगवती खनाल, प्रमिला परी, सन्तोष भट्ट, मणी घिमिरे तथा करण तामाङ लगायतका स्रष्टाहरूले आफ्ना रचना वाचन गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।

त्यसैगरी प्रकाश ढुंगाना, दीपक तिवारी, प्रकाश सडौला, रामप्रसाद चालिसे, रामचन्द्र ढुङ्गेल लगायतका व्यक्तित्वहरूले पनि आ–आफ्नो सिर्जनात्मक प्रस्तुति दिएका थिए। साहित्यिक वातावरण, प्राकृतिक सौन्दर्य र सहभागीहरूको उत्साहले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।कार्यक्रमकै अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित साहित्यिक कृति मनका झिल्काहरु को विमोचन समेत गरिएको थियो। उक्त कृतिमा विभिन्न स्रष्टाहरूका कविता, लेख तथा सिर्जनाहरू समेटिएको जनाइएको छ।

सहभागीहरूले यस्ता साहित्यिक पदयात्राले लेखक तथा स्रष्टाहरूलाई नयाँ परिवेशसँग परिचित गराउने, सिर्जनामा नवीनता ल्याउने तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमले साहित्य र पर्यटनलाई एकसाथ जोड्दै नुवाकोटको ऐतिहासिक तथा सांस्कृतिक पहिचान उजागर गर्न सफल भएको आयोजकको निष्कर्ष रहेको छ।

Comments

Popular posts from this blog

मेयर कप हाप्किडोमा मालिका माविको दबदबा, ७ स्वर्णसहित प्रथम स्थान

 मेयर कप अन्तर्गत आयोजित चौथो राष्ट्रिय सहिद स्मृति हाप्किडो च्याम्पियनशिप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशका सातै प्रदेशबाट खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी बागमती प्रदेश अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नं. ५ र ६ का हाप्किडो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाएका छन्। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–६ स्थित मालिका माध्यमिक विद्यालय का खेलाडीहरूले विशेष सफलता हासिल गरेका छन्। उक्त विद्यालयका खेलाडीहरूले ७ वटा स्वर्ण, ६ वटा रजत तथा ४ वटा कास्य पदक जित्दै आफ्नो डोजाङलाई समग्रमा प्रथम स्थान दिलाउन सफल भएका छन्। खेलाडीहरूको कठोर मेहनत, अनुशासन र समर्पणका कारण उनीहरूले आफ्नो व्यक्तिगत पहिचान मात्र नभई प्रदेश, जिल्ला तथा विद्यालयको नाम समेत उच्च राख्न सफल भएको आयोजक तथा स्थानीयवासीले बताएका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र खेलप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्ता उपलब्धिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली...

निर्माणाधीन निङमा साङाग गुम्बा: दियाले सिक्रेपिपलमा धर्म, संस्कृति र आस्थाको केन्द्र बन्दै

दियाले||नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४, दियाले सिक्रेपिपलमा निर्माणाधीन निङमा साङाग गुम्बा स्थानीय बासिन्दा तथा बौद्ध धर्मावलम्बीहरूका लागि आस्था र आध्यात्मिकताको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ। शान्त वातावरणमा अवस्थित यस गुम्बा क्षेत्रले धार्मिक साधना, प्रार्थना तथा सामुदायिक एकताको प्रतीकका रूपमा पहिचान बनाइरहेको छ। निर्माण कार्य अन्तिम चरणतर्फ उन्मुख हुँदै जाँदा स्थानीयवासीहरूमा उत्साह बढेको छ भने गुम्बा सम्पन्न भएपछि धार्मिक पर्यटनको सम्भावना समेत बढ्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार गुम्बा निर्माणले यहाँको धार्मिक गतिविधि मात्र होइन, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा समेत ठूलो योगदान पुर्‍याउनेछ। बौद्ध धर्मको निङ्मापा परम्परा अनुसार स्थापना गरिएको यस गुम्बामा ध्यान, पूजापाठ, शिक्षा तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ। गुम्बा निर्माणमा स्थानीय समुदाय, दाताहरू तथा धर्मप्रेमी व्यक्तिहरूको सहयोग उल्लेखनीय रहेको निर्माण समितिले जनाएको छ। “यो गुम्बा हाम्रो आस्था मात्र होइन, भावी पुस्ताका लागि सांस्कृतिक धरोहर पनि हो,” एक ...

फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

  नुवाकोट — फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप भव्यताका साथ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन जगत बहादुर गुरुङ, मेयर – बेलकोटगढी नगरपालिका ले गर्नुभयो। नेपाने, बेलकोटगढी–४ मा आयोजित उद्घाटन समारोहमा दक्षिण एसियाली हाप्किडो महासंघ तथा नेपाल हाप्किडो संघ का अध्यक्ष काली बहादुर घर्ती र उपमेयर शिव प्रसाद दाहाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभयो। साथै वडा अध्यक्षहरू चन्द्र बहादुर लामा र कौशीला पुडासैनीको पनि उपस्थिति रहेको थियो। नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल हाप्किडो संघका उपमहासचिव मोहम्मद मोसिन हलवाई, केन्द्रीय सदस्यहरू मनोज गुरुङ, राजेन्द्र मडै तथा मुख्य प्रशिक्षक प्रवीण गुरुङलगायतको सहभागिता थियो। प्रतियोगितामा सातै प्रदेशका करिब ५०० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा सात वटै प्रदेशका झाँकी तथा आकर्षक हाप्किडो डेमो प्रस्तुत गरिएको थियो।