जापान, वैशाख २८ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाले पछिल्लो समय नेपाली लोकदोहोरी गीत–संगीत, लाइभ दोहोरी कार्यक्रम तथा विभिन्न डिजिटल प्लेटफर्ममा सार्वजनिक भइरहेका केही प्रस्तुतिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाले सोमबार एक विज्ञप्ति जारी गर्दै लोकदोहोरी क्षेत्रमा बढ्दो अश्लीलता, अमर्यादित हाउभाउ तथा सामाजिक मर्यादाविपरीतका गतिविधिप्रति चिन्ता व्यक्त गरेको हो।
प्रतिष्ठानले नेपाली लोकदोहोरी गीत केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपाली मौलिक कला, संस्कृति, सभ्यता, संस्कार र सामाजिक जीवनको ऐना भएको उल्लेख गरेको छ। विज्ञप्तिमा लोकसंस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नु कलाकार, सर्जक, सञ्चारकर्मी तथा सचेत नागरिकको साझा जिम्मेवारी भएको जनाइएको छ।
विज्ञप्तिअनुसार पछिल्लो समय केही कलाकार तथा प्रस्तोताले सामाजिक सञ्जालमा ‘भ्युज’, चर्चा र आर्थिक लाभलाई प्राथमिकता दिँदै लोकदोहोरी गीत तथा सांगीतिक प्रस्तुतिलाई अश्लीलता र उत्तेजनातर्फ मोड्ने प्रयास गरेको आरोप लगाइएको छ। युट्युब, टिकटक र फेसबुकजस्ता माध्यममा प्रसारण हुने कतिपय सामग्रीले बालबालिका तथा युवापुस्तामा नकारात्मक असर पार्ने र नेपाली लोकसंस्कृतिको मौलिकतामाथि असर पुग्ने अवस्था सिर्जना भएको प्रतिष्ठानको भनाइ छ।
प्रतिष्ठानले कला र अभिव्यक्ति स्वतन्त्रताको नाममा समाजको संस्कृति, सभ्यता र नैतिक मूल्यमान्यताविपरीत सामग्री प्रस्तुत गर्नु उपयुक्त नहुने उल्लेख गर्दै कलाकार, प्रस्तोता, आयोजक तथा सम्बन्धित पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, सम्बन्धित निकायलाई यस्ता सामग्रीमाथि आवश्यक अनुगमन, छानबिन तथा कारबाही प्रक्रिया प्रभावकारी बनाउन समेत माग गरिएको छ।
जापान शाखाका अध्यक्ष समुद्रराज पौडेल र सचिव दीपक कँडेल ‘सफल’द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सम्पूर्ण लोकदोहोरी कलाकार, सर्जक तथा दर्शकलाई नेपाली मौलिक लोकसंस्कृति, सभ्यता र सामाजिक मर्यादाको सम्मान गर्दै सकारात्मक सिर्जनालाई प्राथमिकता दिन आग्रह गरिएको छ।

Comments
Post a Comment